नेपालमा सुसंस्कृत राजनीति स्थापित गरेर हाम्रै जीवनकालमा यो देश रूपान्तरण गर्न प्रतिवद्ध साझा पार्टीले विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकारका जस्ता पेशागत एवंम् व्यावसायिक संगठनहरू खोल्ने छैन। त्यस्ता राजनीतिक भातृ संगठनहरूको नेपाली समाजको अत्यधिक भ्रष्टिकरण र नैतिक क्षयिकरणमा ठूलो भूमिका छ भन्ने हाम्रो ठहर हो। तर हामीले शिक्षण संस्थाको परिधिबाहिर देश रूपान्तरणका बहस तथा गतिविधिमा युवाहरूलाई प्रेरित गर्न, युवाहरूको वृत्ति विकासमा सहयोग पुर्याउन र उनीहरूलाई भविष्यमा देशको नेतृत्वको लागि तयार पार्न युवा संगठनको आवश्यकता महशुस गरेका छौं। दशकौंदेखिको राजनीतिक विकृतिका कारण युवा पुस्तामा राजनीतिप्रति ठुलो वितृष्णा हुँदाहुँदै पनि उनीहरुलाई राजनीतिभन्दा पर राखेर देशको संवृद्धि र रुपान्तरण सम्भव छैन भन्नेमा हामी सचेत छौं। साझा युवा संगठन 'साझा विवेकशील पार्टी'को आंगिक संगठन हो।
उमेरले युवा हुनुमात्र नेतृत्वका लागि पर्याप्त योग्यता होइन। नेतृत्वका लागि उमेरसँगै क्षमता र इमानदारी अत्यवश्यक हुन्छ। यस संगठनले राजनीतिक या गैर-राजनैतिक कुनै पनि क्षेत्रमा युवाहरूको नेतृत्वदायी भूमिकाका लागि क्षमता र इमानदारी विकासमा सघाउ पुर्याउने गतिविधिहरू गर्नेछ। उनीहरूको वृत्ति विकासका लागि विभिन्न किसिमका तालिम, बहस, छलफल, जीवनउपयोगी कला, सामाजिक अध्ययन/अनुसन्धान, नीतिगत संवाद, उध्यमशीलता र राजनीतिमा युवाको आकर्षण तथा सहभागिता सुनिश्चित गर्नका लागि अनि सरकारलाई जवाफदेही बनाउनका लागि युवा संगठनलाई रचनात्मक मञ्चको रुपमा प्रयोग गरिनेछ।
विश्वविध्यालय तथा क्याम्पसको परिधीभित्र राजनीतिक कृयकलाप नगर्ने संकल्प गरेको साझा युवा संगठनले प्राध्यापक/शिक्षकलाई कालो मोसो दल्ने, बन्धक बनाउने, टायर बाल्ने, ढुंगा हान्ने, शैक्षिक संस्थालाई राजनीतिकरूपमा प्रभावित पारेर आफ्नो निहीत स्वार्थ पुरा गर्ने काम गर्ने छैन।
साझा युवा संगठनको सदस्यता फारममा उल्लेखित शर्त पूरा गरेका र १८ वर्ष पुगेका तर ४० वर्ष उमेर नकटेका नेपाली/गैर आवासीय नेपाली नागरिकले वार्षिक सदस्यता शुल्क बुझाएर साझा युवा संगठनको सदस्यता लिन सक्नेछन्। सदस्यताको लागि संगैको फारम भर्नुहोला। हामी तपाईंलाई छिटै सम्पर्क गर्नेछौं।
नेपालभित्र र बाहिर रहेका १८ वर्ष पुगेका तर ४० वर्ष उमेर नकटेका नेपाली/गैर आवासीय नेपाली नागरिकले अनलाइन सेवाबाट वार्षिक सदस्यता शुल्क बुझाएर या अनलाइन सेवाबाट बुझाउने स्थिति नभएमा फारममा उल्लेखित “पछि बुझाउनेछु” विकल्प रोजेर सदस्यता लिन सक्नुहुनेछ। फारममा सदस्यता नलिएर आर्थिक सहयोगी वा स्वयंसेवीमात्र हुने विकल्प पनि प्रदान गरिएको छ।